हाजार्डलाई समेट्दै बेल्जियमको टोली घोषणा

एजेन्सी – चोटबाट भर्खरै पूनरागमन गरेका स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड इडेन हाजार्डलाई समेट्दै बेल्जियमले युरोकपको लागि २६ सदस्यीय टोलीको घोषणा गरेको छ ।सन् २०१९ मा ८६ मिलियन पाउन्डमा म्याड्रिड पुगेदेखि नै हाजार्डले चोट बोक्न पुग्दा लामो समय मैदान बाहिर रहेका थिए । हजार्डले यो सिजन रियलका लागि २१ खेल खेलेका छन् । उनले चार गोल र एक असिस्ट दिएका छन् । प्रशिक्षक रोबर्टाे मार्टिनेजले भर्खरै पूनरागमन गरेका भएपनि हाजार्डलाई टोलीमा समेटेका हुन् ।

युरोपियन फुटबल महासंघले कोभिडका कारण टोलीमा २६ खेलाडी राख्न पाउने अधिकार दिएपछि बेल्जियमले त्यसको सदुपयोग गर्दै टोली छनोट गरेको हो । रियल म्याड्रिडका गोलरक्षक थिवाउट कोर्टुवासँगै लिभरपुलका पूर्व गोलरक्षक सिमोन मिग्नोलेटले पनि टोलीमा स्थान बनाएका छन् ।प्रिमियर लिगमा लेस्टर सिटीबाट यो सिजन उच्च प्रदर्शन गरिरहेका टिमोथी कास्टाग्ने, युरी टिलेमान्स, डेनिस प्राएट र म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रुयन पनि टोलीमा रहेका छन् । टोटेनहमका पूर्व डिफेन्डर जान भर्टोन्घन पनि टोलीमा छन् ।

यस्तै प्रशिक्षक मार्टिनेजले बेल्जियमको सर्वाधिक गोलकर्ता इटालियन च्याम्पियन इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकु, नेपोलीका ड्रिएस मेर्टिन्स र जर्मन क्लब बोरुसिया डर्टमुन्डमा खेलिरहेका इडेन हाजार्डका आफ्नै भाई थोर्गन हाजार्डलाई पनि टोलीमा समेटेका छन् ।युरोकप अर्काे महिनाबाट सुरु हुँदैछ । युरोकप युरोपका विभिन्न ११ शहरमा ११ जुनदेखि ११ जुलाईसम्म हुनेछ । बेल्जियम समुह ‘बी’ मा रहेको छ । यो समुहमा बेल्जियमसँगै डेनमार्क, फिनल्याण्ड र रसिया रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *