मेस्सीसँग बार्सिलोनामै खेल्ने अगुएरोको आशा

एजेन्सी – अर्जेन्टिनी स्टार सर्जियो अगुएरोका लागि सोमबारको रात विशेष थियो । खेल जीवनको उत्कृष्ट क्षण मध्येको एकमा उनी खुसी नहुने कुरै भएन । किनकी सानै देखि बार्सिलोनाबाट खेल्ने उनको सपना पूरा हुने क्रममा रहेको छ ।बार्सिलोनासँग औपचारिक रुपमा सम्झौता गरेसँगै अगुएरोले टोलीका सुपर स्टार लिओनल मेस्सीसँगै खेल्न पाउने आशा राखेका छन् । म्यानचेष्टर सिटीसँगको सम्झौता सकिएपछि फ्रि ट्रान्सफरमा अगुएरो बार्सिलोनामा आबद्ध भएका सिथए । सन् २०२१ २२ का लागि बार्सिलोनाले सम्झौता गरेको अगुएरो पहिलो खेलाडी हुन् ।

‘आशा छ हामीसँगै खेल्ने छौं । केहि समययता हामी कुराकानी गरिरहेका थियौं । तर अब क्लब र उनीले यो विषयमा निर्णय लिनुपर्नेछ । उनीसँग खेल्न पाउँदा मलाई गर्व लाग्नेछ । हामीसँगै खेलेका छौं र म उनलाई राम्ररी जान्दछु,’ सार्वजनिक गरिएको कार्यक्रममा अगुएरोले भने, ‘मलाई लाग्छ उनी यहि बस्नेछन् । हाम्रो हरेक दिन कुरा हुन्छ । तर सबै यहाँ बताउन सक्दिन । उनले मलाई बधाई दिएका छन् ।’

अगुएरोले मेस्सीलाई सानै उमेरदेखि चिनेको पनि स्मरण गरे । उनले भने, ‘हामी सधै सँगै अभ्यास गर्थौ । राष्ट्रिय टोलीमा भने केहिले काहि अवसर मिल्ने हो । यहाँ हुँदा हरेक दिन सँगै भइन्छ ।’ बार्सिलोनामा मेस्सीको सम्झौता यसै महिनाको अन्त्यमा सकिँदैछ । यदि मेस्सीले क्लब छाडेको खण्डमा पनि उनीसँगको क्षणहरु सधैसँगै रहने पनि अगुएरोले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *