रोड्रिग्वेजलाई फिटनेस बाधक

कोलम्बिया : इङ्लिस प्रिमियर लिग टोली एभर्टनका प्लेमेकर जेम्स रोड्रिग्वेजले कोपा अमेरिका फुटबल गुमाउने भएका छन्। कोपा अमेरिकाका लागि गत साता कोलम्बिया पुगेका उनको फिटनेसमा समस्या आएपछि राष्ट्रिय टोलीमा स्थान बनाउन नसकेका हुन्।कोलम्बिया पुगेर केही समय परिवारसँग समय बिताएका उनले आफूलाई फिट राख्न निकै मेहनत पनि गरेका थिए। उनले लामो समयसम्म जिममा शारीरिक अभ्यास पनि गरे। तर, कोलम्बिया राष्ट्रिय फुटबल टोलीका मेडिकल टिमले उनी पूर्ण रूपमा फिट नरहेको निष्कर्ष निकालेपछि रोड्रिग्वेजले टोलीमा स्थान बनाउन नसकेका हुन्। उनले कोपा अमेरिकासँगै विश्वकप छनोटअन्तर्गत पेरु र अर्जेन्टिनाविरुद्धको खेल पनि गुमाउने भएका छन्।

‘राष्ट्रिय टोलीका मेडिकल टिमको रिपोर्टअनुसार रोड्रिग्वेजले पेरु र अर्जेन्टिनाविरुद्धको विश्वकप छनोट र कोपा अमेरिका फुटबलका लागि राष्ट्रिय टोलीमा स्थान बनाउन सकेनन्’, कोलम्बिया फुटबल संघले विज्ञप्तिमा भनेको छ, ‘पछिल्ला दिनमा उनले फिटनेसका लागि निरन्तर परिश्रम पनि गरेका थिए। उनको स्वास्थ्य परीक्षण पनि नियमित रूपमा नै भएको थियो। तर, अपेक्षाअनुसार उनको फिटनेसमा प्रगति हुन सकेन र उनलाई टोलीमा समावेश गर्न सकिएन।’

युवा तथा प्रभावशाली खेलाडीलाई टोलीमा समेट्न नपाएकोमा दुःख लागेको कोलम्बिया फुटबल टोलीका सदस्यले बताएका छन्। उनीहरूले रोड्रिग्वेज छिट्टै टोलीमा फर्कने आशासमेत गरेका छन्। रोड्रिग्वेजले कोलम्बियाका लागि ८० खेलमा २३ गोल गरेका छन्। उनले गोलका लागि २५ एसिस्ट पनि गरेका छन्। चोटकै कारण रोड्रिग्वेजले इङ्ल्यान्डमा सोचेजस्तो प्रदर्शन गर्न सकेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *